नेपालमा कारागार (जेल) को इतिहास वि.स १९७१ बाट शुरु भएको हो । नेपालको पहिलो कारागार "सदरजेल" (हालको कारागार कार्यालय काठमाण्डौ - जगन्नाथदेवल) हो । २०१९ सालमा कारागारसम्बन्धी व्यवस्था गर्न कारागार ऐन २०१९ निर्माण भै उक्त एेनको दफा २७ ले दिएको अधिकार प्रयोग गरी कारागार नियमावली २०२० तर्जुमा भै लागू भएको छ । कारागार व्यवस्थापन तथा प्रशासन सम्बन्धी कार्यलार्इ प्रभावकारी एवं सवल बनाउन २०५० साल श्रावण १ गतेदेखि गृह मन्त्रालय अन्तर्गत केन्द्रिय तहमा कारागार व्यवस्थापन विभागको स्थापना भै सञ्चालनमा आएको हो । हाल धनुषा, बारा र भक्तपुर ३ जिल्ला बाहेकका ७२ जिल्लामा कारागार कार्यालयहरु रहेका छन् । दाङ जिल्लामा घोराही र तुल्सीपुर दुर्इ ठाउँमा तथा काठमाण्डौं जिल्लामा जगन्नाथदेवल (सुन्धारा) र डिल्लीबजार (चारखाल) दुर्इ ठाउँमा एवम् अन्य ७० जिल्लामा एक एकवटा गरी हाल नेपालमा कुल कारागार संख्या ७४ रहेको छ । स्थानीय स्तरमा कारागार व्यवस्थापन तथा प्रशासनको सामान्य जिम्मेवारी सम्वन्धित प्रमुख जिल्ला अधिकारीको हुने व्यवस्था रहेको छ ।नख्खुमा मनोसामाजिक अस्पतालको निर्माण कार्य भैरहेको र बाकेँको गनापूरमा खुल्ला कारागार र नौवस्तामा क्षेत्रिय कारागार निर्माण कार्य भैरहेको छ।